काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सुशासनको लाभांश’ नेपाली समाजमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको स्पष्ट पारे ।
वाग्लेले जनताले दिएको अभूतपूर्व जनादेशअनुसार सरकारले यी क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै विगत १०–१५ वर्षको कुशासनका कारण समाजले ठूलो मूल्य चुकाउनुपरेको बताए ।
उनका अनुसार आगामी बजेट सुधारमुखी हुनेछ, जसमा संस्थागत तथा कानुनी सुधार, दर्जनौँ ऐन संशोधन तथा सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ ।
ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको विकासलाई प्राथमिकता दिइने भन्दै उनले रेमिट्यान्समा निर्भर अर्थतन्त्र घटाएर स्वच्छ ऊर्जा, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई दीर्घकालीन आर्थिक वृद्धिको आधार बनाइने बताए ।


