‘सरकार संसद्लाई छल्दै अघि बढ्न खोजिरहेको छ’ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको बताए । निर्वाचन सम्पन्न भएर नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनको भनाइ थियो ।

प्रचण्डले सुकुम्वासी, विद्यार्थी तथा ट्रेड युनियनसँग सम्बन्धित समस्या समाधान हुन नसकेको उल्लेख गर्दै ती विषय अझै गम्भीर समस्याका रूपमा रहेको बताए ।

संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको बहसपत्र पारदर्शी नभएको आरोप लगाउँदै उनले अध्यादेशमार्फत सरकार अस्वाभाविक ढंगले अघि बढिरहेको टिप्पणी गरे ।

उनले झण्डै दुईतिहाइको सरकारप्रति जनताले राम्रो कामको अपेक्षा गरेको स्मरण गराउँदै सुरुवातमा सार्वजनिक गरिएको १०० दिने कार्ययोजनाले आशा जगाए पनि पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजेको जस्तो देखिएको बताए ।

प्रचण्डले सरकारका सकारात्मक काममा सहयोग गर्ने तर सुझावहरू बेवास्ता गरिए त्यसअनुसार प्रतिवाद गर्ने योजना रहेको पनि बताए ।

प्रकाशित: आइतबार, जेठ ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय