रास्वपाले देशभर वडा अधिवेशन गर्दै, महाधिवेशन असारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन सञ्चालन गर्दैछ।

गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १,५०० वडामा आज अधिवेशन गर्न लागिएको पार्टीले जनाएको छ। दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार जेठ ३ गतेअघि तदर्थ समिति गठन भएका वडाको अधिवेशन भने जेठ १६ गते गरिनेछ।

त्यस्तै, पालिका अधिवेशन पनि दुई चरणमा जेठ ९ र १७ गते सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। वडामा ३० प्रतिशत र जिल्लामा पनि ३० प्रतिशत अधिवेशन भएमा माथिल्लो तहको अधिवेशन नरोकिने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुनेछ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भएर असार १ गतेसम्म चल्नेछ।

पार्टीको प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय गरिएको छ। पार्टी गठन भएको चौथो वर्षगाँठकै अवसरमा पहिलो महाधिवेशनको मिति तय गरिएको हो।

प्रकाशित: आइतबार, जेठ ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय