मदन–आश्रितको विचार राजनीतिक यात्राको दीपस्तम्भ : अध्यक्ष ओली

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचार तथा योगदान नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको बताएका छन्।

मदन–आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित मौलिक विचार भएको उल्लेख गरेका हुन्।

ओलीले लेखेका छन्, “मदन भण्डारी, जीवराज आश्रित र आन्दोलनले जन्माएका धेरै अग्रज तथा योद्धा आज हामीबीच शारीरिक रूपमा छैनन्। तर उहाँहरूको विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेका छन्।”

मदन भण्डारीसँगको राजनीतिक सहयात्रा स्मरण गर्दै उनले भण्डारीलाई गुमाउनु केवल एक नेता वा मित्र गुमाउनु मात्र नभई एक युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताएका छन्। साथै, जबजको वैचारिक विरासतले जनताको पक्षमा अडिग रहँदै परिवर्तनको यात्रालाई निरन्तर अघि बढाउन प्रेरित गरिरहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पनि जबजकै मार्गदर्शनमा अघि बढाइएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा मानवीय तथा भौतिक पूर्वाधार विकासमा सकारात्मक परिवर्तन देखिन थालेको दाबी गरेका छन्।

उनले अन्त्यमा मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली तथा उच्च सम्मान व्यक्त गरेका छन्।

प्रकाशित: आइतबार, जेठ ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय