काठमाडौँ । हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएका छन् । बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अनुपस्थिति संसद्को मर्यादा र संसदीय परम्पराविपरीत भएको बताएका हुन् ।
साम्पाङले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा स्वयं प्रधानमन्त्री उपस्थित हुनुपर्ने धारणा राखे । “सरकारको प्रमुख नेतृत्व गर्ने व्यक्तिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा उहाँ स्वयं सदनमा हुनुपर्छ,” उनले भने ।
उनले आफ्नो भनाइलाई सामाजिक परम्परासँग तुलना गर्दै बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने उदाहरण दिएका थिए । “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन,” भन्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई अस्वाभाविक रूपमा चित्रण गरे ।
यद्यपि, उनले नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिन प्रधानमन्त्री सदनमा आउने विश्वास व्यक्त गरेका छन् ।


