काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू हस्तान्तरण गरेका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब २० लाख रुपैयाँ मूल्यका दुई वटा मेसिन उपलब्ध गराएको हो । जसमा क्लिया मेसिन र पीटी/आईएनआर मेसिन रहेका छन् ।
क्लिया मेसिनबाट थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघर र प्रोस्टेट क्यान्सरलगायत हर्मोनसम्बन्धी परीक्षण गर्न सकिने जनाइएको छ । त्यस्तै पीटी/आईएनआर मेसिन रगत जम्ने प्रक्रिया, मुटुरोगी तथा विषालु जीवले टोकेका बिरामीको परीक्षणमा उपयोगी हुने बताइएको छ ।
त्यसैगरी लोयल ट्रेडर्सले करिब २० लाख रुपैयाँ बराबरका बायोकेमेस्ट्री एनालाइजर र हेमाटोलोजी एनालाइजर मेसिन सहयोग गरेको अस्पतालले जनाएको छ । यी उपकरणबाट कलेजो, मिर्गौला, युरिक एसिड तथा रगतका विभिन्न परीक्षण गर्न सकिनेछ ।
लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकले सामान्यदेखि विशेष परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने बताए । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पनि यस सहयोगले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास व्यक्त गरे ।
हाल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको अस्पतालले पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको छ । अस्पतालले बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म विस्तारित ओपीडी सेवा सञ्चालन गर्दै आएको छ ।


