काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेपछि सुनुवाइ स्थगित भएको छ ।
आज न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो । तर इजलास हेर्न नमिल्ने भएपछि अर्को मितिका लागि सुनुवाइ सारिएको छ ।
मुद्दामा विपक्षी बनाइएको चलचित्र विकास बोर्डलाई पेसीको सूचना नपुगेको अवस्था देखिएपछि सर्वोच्चले यसअघि बुधबार पुनः आदेश दिएको थियो ।
चलचित्रमा प्रयोग गरिएका केही शब्दले बादी महिलालाई अपमानित गरेको आरोपसहित डा. रोशनी नेपालीले सर्वोच्चमा निवेदन दायर गरेकी हुन् । उच्च अदालत पाटनले यसअघि वैशाख २३ गते एकल इजलासबाट चलचित्र प्रदर्शन रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै बाटो खुला गरिसकेको थियो ।


