तम्घास । गुल्मीमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको इस्मा गाउँपालिका–६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मङ्गलबार साँझ कुटपिटपछि घाइते सुमित्रालाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिए।
अस्पतालको प्रतिवेदनअनुसार मृतकको मुख र घाँटीमा चोट लागेको थियो भने छातीका सात वटा करङ भाँचिएका थिए। प्रहरीले घटनामा मादक पदार्थ सेवनको प्रभाव रहेको जनाएको छ।
घटनापछि आरोपी थम्मनबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।


