जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानान्तरण गरिँदैछ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको बताएका छन् ।

आइतबार रास्वपाको पार्टी–संसद–सरकार समन्वय समितिले आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा बोल्दै उनले खोला किनार तथा बाढी–पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई प्राथमिकतामा राखेर व्यवस्थापन भइरहेको बताए ।

उनले जोखिमपूर्ण क्षेत्रमा नागरिकलाई त्यहीँ राखिराख्ने वा समाधानतर्फ कदम चाल्ने भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएका विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु गलत हुने बताए ।

भोट केन्द्रित राजनीति गर्ने प्रवृत्तिबाट सबै दल बाहिर आउनुपर्नेमा जोड दिँदै उनले विपद् व्यवस्थापनमा सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए । सीमित स्रोतसाधनका बाबजुद विपद् व्यवस्थापनमा संलग्न निकायको क्षमतालाई एकीकृत गरी क्षति न्यूनीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा रास्वपाका महामन्त्री एवं समन्वय परिषद्का संयोजक भूपदेव शाहले बर्सेनि हुने प्राकृतिक विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति घटाउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताए । छलफलबाट प्राप्त सुझावलाई नीति तथा कार्ययोजनामा रूपान्तरण गरी आगामी मनसुनमा विपद् जोखिम न्यूनीकरणमा उपयोग गरिने उनले जानकारी दिए ।

प्रकाशित: आइतबार, बैशाख २७, २०८३

सम्बन्धित खवर