होटल व्यवसायी महासंघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, पर्यटन क्षेत्रको सुदृढीकरणमा जोड

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) द्वारा आयोजित नवनिर्वाचित कार्यसमितिको प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वैशाख २६ गते काठमाडौंको गौशालास्थित Best Western Plus Hotel मा आयोजित कार्यक्रममा महासंघका पदाधिकारी, होटल व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालको आतिथ्यता तथा पर्यटन क्षेत्रको सुदृढीकरण, व्यवसायिक एकता, विकास र भावी रणनीति निर्माणलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायमैत्री बनाउन महासंघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले होटल तथा पर्यटन क्षेत्रको विकासका लागि राज्यले आवश्यक नीतिगत सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा नरेशलाल श्रेष्ठ, हिक्मत सिंह ऐर लगायत विभिन्न पर्यटन तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। साथै Hotel Association Nepal, Trekking Agencies’ Association of Nepal (TAAN), NATA Nepal, र्याफ्टिङ संघ, पर्वतारोहण संघ तथा अन्य पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

महासंघले देशभरका साना, मझौला तथा ठूला होटल व्यवसायीहरूको साझा हितका लागि निरन्तर कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन तथा नीति निर्माणमा महासंघको भूमिका अझ प्रभावकारी बनाइने जनाएको छ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले होटल तथा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। साथै होटल व्यवसायीबीच आपसी सहकार्य, व्यवसायिक एकता तथा पर्यटन क्षेत्रको दीर्घकालीन विकासका विषयमा समेत छलफल गरिएको थियो।

महासंघले आगामी दिनमा होटल व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम, नीति संवाद तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: आइतबार, बैशाख २७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय