नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय दीपेन्द्रराज गिरी, २० वर्षीय बिबीएस कुँवर, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ का १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाटै पक्राउ गरिएको हो। घटनास्थलबाट एक थान चक्कु, मोटरसाइकल र सिसाका बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज–१२ स्थित एक घरमा भएको ब्रतबन्ध कार्यक्रममा बस्ने ठाउँको अभावका कारण छिमेकीको घरमा बस्ने क्रममा युवाहरूबीच विवाद चर्किएपछि झडप भएको थियो। सोही क्रममा खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीमाथि धारिलो हतियार प्रहार गरिएको हो।
गम्भीर घाइते ठकुरीलाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


