ऐतिहासिक बनेपा चण्डेश्वरी जात्रा सम्पन्न, तीन दिनसम्म भव्य उत्सव

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल पूर्णिमाको अवसरमा तीन दिनसम्म मनाइने यो जात्रा आइतबार साँझ विधिपूर्वक समापन गरिएको हो।

करिब २ हजार ५०० वर्षअघिदेखि चलिआएको मानिने यस जात्रामा चण्डेश्वरी देवीलाई रथमा विराजमान गराई शनिबार बनेपाको पुरानो बजार क्षेत्रमा परिक्रमा गराइएको थियो। आइतबार साँझ देवीलाई पुनः मन्दिरमा फर्काइएपछि जात्रा सम्पन्न भएको हो।

नेवार समुदायको प्रमुख पर्वका रूपमा रहेको यस जात्राको पहिलो दिन हरेक घरमा पूजाअर्चना गरिएको थियो। सरकारी पूजासहित १२ वटा बोकाको बलि दिएर औपचारिक रूपमा जात्रा सुरु गरिएको थियो।

दोस्रो दिन हजारौँ भक्तजनको सहभागितामा चिराग यात्रा गरिएको थियो भने पाङ्ग्रा नभएको रथलाई विभिन्न विधिपूर्वक मन्दिरसम्म पुर्‍याइएको थियो। त्यसपछि देवीलाई रथारोहण गराई नगर परिक्रमा गराइएको थियो।

आइतबार अन्तिम दिन देवीको मूर्तिलाई सानो खटमा राखी परिक्रमा गराउँदै मन्दिर फर्काइएपछि जात्रा विधिवत् समापन गरिएको हो। जात्रा अवधिभर विभिन्न स्थानमा पूजा, भजन, भोज तथा सांस्कृतिक गतिविधि सञ्चालन भएका थिए।

शक्तिकी अधिष्ठात्री देवी चण्डेश्वरीप्रति श्रद्धा र विश्वासका साथ मनाइने यो जात्रा बनेपाको प्रमुख सांस्कृतिक पहिचानका रूपमा लिइन्छ। जात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो।

प्रकाशित: सोमबार, बैशाख २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय