काठमाडौँ । रवि लामिछाने ले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन्। काठमाडौँमा आज निजी क्षेत्रका संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स का प्रतिनिधिहरूसँगको छलफलमा उनले रास्वपा र सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन्।
लामिछानेले निजी क्षेत्र डराउनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै सरकार व्यवसायीलाई दुःख दिन नभई सहज वातावरण सिर्जना गर्न चाहेको बताए। केही व्यवसायीहरूले अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गर्दा सरकारले सुशासनका लागि कडाइ गर्नुपरेको उनको भनाइ थियो।
उनका अनुसार सम्पत्ति शुद्धीकरण, ठगीलगायतका मुद्दामा भइरहेको कारबाही सुशासन र आर्थिक सुधारको प्रक्रियाको हिस्सा हो, जसमा केही असहजता आउन सक्ने भए पनि लक्ष्य प्रणाली सुधार गर्नु हो।
लामिछानेले निजी क्षेत्रको समस्या समाधानका लागि स्पष्ट रोडम्याप तयार भइसकेको र व्यवसायीहरूले अब पार्टी कार्यालय वा नेताहरूको घर धाउन नपर्ने बताए। उनले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीमैत्री वातावरण, सम्पत्ति शुद्धीकरणसम्बन्धी नीति, तथा निजी क्षेत्रमाथि हुने दबाब घटाउन सरकारसँग आग्रह गरेका थिए।


