काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’को सुरुआत गरेको छ।
बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली को उपस्थितिमा सञ्चालक समिति सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर कक्ष उद्घाटन गरेकी हुन्। कार्यक्रममा अन्य सञ्चालकहरू तथा उच्चपदस्थ कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
कर्मचारी हितलाई प्राथमिकता दिँदै बैंकले कार्यरत आमाहरूलाई स्तनपान गराउन सहज वातावरण उपलब्ध गराउने उद्देश्यले नर्सिङ रुम स्थापना गरेको जनाएको छ। यस कक्षले कार्यालय समयमा मर्यादित, सुरक्षित र आरामदायी रूपमा स्तनपान गराउने सुविधा प्रदान गर्ने विश्वास लिइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै सरिता भट्ट अधिकारीले यस कदमले कर्मचारीप्रतिको जिम्मेवारी पूरा गर्ने र आमाहरूलाई कार्यस्थलमै सुरक्षित महसुस गराउने बताइन्। अध्यक्ष निर्वाण चौधरीले पनि नर्सिङ रुमलाई लैंगिक समानता र कर्मचारी हितप्रति बैंकको प्रतिबद्धताको महत्वपूर्ण पहलका रूपमा उल्लेख गरे।
उनले यो सुविधा हाल केन्द्रीय कार्यालयमा सुरु भए पनि भविष्यमा अन्य शाखाहरूमा विस्तार गर्ने योजना रहेको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्ता प्रयासले कर्मचारीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने धारणा राखे।
नबिल बैंकले देशभर २६८ शाखा र ३१८ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ भने २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ। साथै, बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै ‘एनबैंक’ सेवा सञ्चालनमा ल्याएको छ।


