नयाँ शैक्षिकसत्र आजदेखि सुरु, भर्ना र पठनपाठनमा कानुनी निर्देशन लागू

काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी भएको छ। सरकारको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गर्ने व्यवस्था गरिएको हो।

पहिले वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुने परम्परा रहे पनि वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धन आपूर्तिको असहज अवस्थालाई ध्यानमा राख्दै मिति परिवर्तन गरिएको हो। यद्यपि केही स्थानीय तहको सहजीकरणमा भने वैशाख १५ अगावै भर्ना प्रक्रिया अघि बढाइएको देखिएको छ।

सरकारले चैत २२ गते निजी विद्यालयहरूले कानुनविपरीत असुल गरेको भर्ना तथा अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको थियो। साथै, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरीत लिइएका शुल्क फिर्ता गराउन स्थानीय तहलाई कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।

यसैबीच, सर्वोच्च अदालतले परीक्षा नतिजा प्रकाशित नभएसम्म र आवश्यक प्रमाणपत्र उपलब्ध नभएसम्म भर्ना सूचना प्रकाशन नगर्न अन्तरिम आदेश दिएको छ। अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने स्पष्ट गर्दै प्रचलित कानुनअनुसार कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपछि मात्र नयाँ शैक्षिकसत्र २०८३ अन्तर्गत भर्ना कार्यक्रम सञ्चालन गर्न पूर्वनिर्देशन जारी गरिसकेको छ।

प्रकाशित: मंगलबार, बैशाख १५, २०८३

सम्बन्धित खवर