काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात १०२ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए। उनका अनुसार गत वर्ष नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँका विद्युतीय सवारीसाधन आयात भएका थिए।
चालु आवमा ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भई एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल (९६ करोड रुपैयाँ) र चार हजार ६०६ वटा तीन पाङ्ग्रे सवारीसाधन (५३ करोड रुपैयाँ) आयात भएका छन्।
गत वर्षको तुलनामा सबै प्रकारका विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि देखिएको भन्सार कार्यालयले जनाएको छ।


