नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स छापिए/नछापिएको जानकारी हेर्न सकिने

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको जानकारी अब नागरिक एपमार्फत सजिलै हेर्न सकिने भएको छ।

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्सहरू यातायात व्यवस्था विभागले वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाउन थालेपछि यो सुविधा उपलब्ध गराइएको हो।

नागरिक एपको नयाँ अपडेट (भर्सन २.०.९५) मा यो फिचर थपिएको छ। एपको ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमा गएर कार्ड छापिएको भए “तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्” भन्ने सन्देश देखिन्छ।

यदि कार्ड छापिएको छैन भने कुनै सूचना देखिँदैन। हाल यो सुविधा एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ भने आईओएसमा पनि चाँडै ल्याइने जनाइएको छ।

विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिक २०८२ मा भएको सम्झौताअनुसार १२ लाख क्यूआर आधारित लाइसेन्स छपाइ पूरा भइसकेको छ। ३० चैतसम्ममा ६ लाख ७० हजार कार्ड सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको विभागले जनाएको छ।

प्रकाशित: सोमबार, बैशाख १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय