काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
विद्यालय पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार तथा संस्थागत विकासलगायत विषयमा विशेष छलफल भएको थियो। साथै नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय पूर्वाधार विकास, डिजिटल शिक्षण प्रणाली विस्तार र चिनियाँ साझेदारीमार्फत सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू छिटो सम्पन्न गर्न र नेपाली विद्यार्थीका लागि चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाउन पनि आग्रह गरेका थिए।
जवाफमा चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको र सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने समझदारीसमेत भएको जनाइएको छ।


