काठमाडौँ । नेकपा एमालेले सुकुम्बासीलाई बिना विकल्प बलपूर्वक हटाउने कार्य संविधानप्रदत्त मौलिक हकविपरीत भएको भन्दै आपत्ति जनाएको छ। घरबारविहीन सुकुम्बासी समुदायमाथि गरिएको अमानवीय र असंवेदनशील व्यवहारप्रति एमालेले कडा विरोध जनाएको हो।
पार्टीका केन्द्रीय सदस्य तथा प्रेस संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको उल्लेख गर्दै बलपूर्वक हटाउनु दिगो र न्यायोचित समाधान नहुने बताइएको छ।
विज्ञप्तिमा बल प्रयोगलाई राज्यको संस्थागत धम्की र संवादहीन एकपक्षीय निर्णयको संज्ञा दिँदै यस्तो कदम मानवीय र कानुनी दृष्टिले अनुपयुक्त रहेको उल्लेख गरिएको छ। साथै राष्ट्रिय भूमि आयोग गठन, लगत संकलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अघि बढाइएको विषय पनि स्मरण गराइएको छ।
एमालेले बल प्रयोग तत्काल रोक्न, प्रभावित समुदायसँग संवाद गर्न तथा वैज्ञानिक भूमि सुधार र सुकुम्बासी व्यवस्थापन नीति कार्यान्वयनमार्फत दीर्घकालीन समाधान खोज्न माग गरेको छ। स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी मानवीय र न्यायोचित समाधान निकाल्न पनि पार्टीले आग्रह गरेको छ।


