काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले २०६२/०६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गरेका छन्।
लोकतन्त्र दिवसलाई नेपाली राजनीतिक इतिहासको गौरवशाली प्रारम्भ बिन्दुका रूपमा व्याख्या गर्दै यादवले नागरिक स्वतन्त्रता, न्याय र समानतासहित प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।
उनले परिवर्तित व्यवस्थालाई थप जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नु आजको मुख्य राजनीतिक दायित्व भएको बताएका छन्।


