काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको ६ लेन सडक विस्तार कार्य जारी रहेको छ। करिब १६ किलोमिटर लामो उक्त आयोजना करिब तीन वर्षअघि सुरु गरिएको हो, जसको हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
यद्यपि निर्माण कार्य पछिल्ला डेढ महिनादेखि सुस्त भएको छ। बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण कामको गति प्रभावित भएको निर्माण व्यवसायीहरूले बताएका छन्।
१५.८ किलोमिटर सडक विस्तारको लक्ष्यअनुसार काम अघि बढिरहेको भए पनि तोकिएको समयसीमाभित्र सम्पन्न गर्न कठिन हुने देखिएको छ। साँगा–धुलिखेल खण्डमा हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भएको छ भने सूर्यविनायक–साँगा खण्डमा मात्र ४८ प्रतिशत प्रगति भएको जनाइएको छ।
निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार बिटुमिनलगायत आवश्यक सामग्रीको आपूर्ति समस्या र मूल्य अस्वाभाविक रूपमा बढेकाले कामको गति घटेको हो। कम्पनीले सरकारी तहबाट ‘कन्स्ट्रक्सन होलिडे’ र मूल्य समायोजनको मागसमेत गरेको छ।
आयोजनाका प्रमुख विजयकुमार महतोले पनि हालको परिस्थितिमा समयमै काम सम्पन्न गर्न चुनौती रहेको स्वीकार गरेका छन्। भारतबाट आउने बिटुमिन आपूर्तिमा समेत समस्या देखिएको उनले बताए।
स्थानीय प्रशासनले वर्षायाम सुरु भएसँगै निर्माण क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै पूर्वतयारीमा ध्यान दिन आग्रह गरेको छ। साथै, सडकमा धुलो, हिलो र चिप्लोपनका कारण यात्रुहरू प्रभावित भइरहेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
हाल केही स्थानमा कालोपत्र, पर्खाल निर्माण, कटिङ तथा कल्भर्ट निर्माण कार्य जारी छ। परियोजना सम्पन्न भएपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।


