काठमाडौँ । केही दिनयता देशका अधिकांश क्षेत्रमा तापक्रम बढेसँगै अत्यधिक गर्मी महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागले तराईका जिल्लामा तातो हावा ‘लु’ चल्ने सम्भावना रहेको चेतावनी दिएको छ।
विभागका अनुसार आज कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका–खोँचहरूमा अत्यधिक गर्मी बढेको छ भने विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका पश्चिमी तराई क्षेत्रमा ‘लु’ चल्ने जोखिम उच्च रहेको जनाइएको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार बुधबारसम्म तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर जारी रहने सम्भावना छ। कोशी प्रदेशमा भने आंशिक बदलीका कारण तत्काल ‘लु’ को जोखिम कम रहेको बताइएको छ।
सुदूरपश्चिमको दिपायलमा तापक्रम करिब ४० डिग्री पुगेको उल्लेख गर्दै यसलाई असामान्य अवस्था मानिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण यस्ता घटनाहरू बढ्दै जाने भएकाले पूर्वतयारी र सचेतना आवश्यक रहेको जनाएको छ।
स्वास्थ्यका दृष्टिले ‘लु’ निकै जोखिमपूर्ण हुन सक्ने भन्दै जनस्वास्थ्यविद् समीर अधिकारीले हृदयगति तीव्र हुने, टाउको दुख्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता समस्या देखिन सक्ने बताएका छन्। त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शरीरको तापक्रम अत्यधिक बढ्नु, छाला सुक्खा र तातो हुनु ‘लु’ का मुख्य लक्षण हुन्।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले जलवायु परिवर्तन, सहरीकरण र वायु प्रदूषणका कारण गर्मीजन्य समस्या बढ्दै गएको देखाएको छ।
कृषि क्षेत्रमा पनि यसको असर देखिन थालेको छ। विज्ञ डिल्लीराम शर्माका अनुसार अत्यधिक गर्मीले बाली सुक्ने, फूल झर्ने र उत्पादन घट्ने जोखिम बढाउँछ।
कसरी जोगिने?
विज्ञहरूले दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन, टाउको छोपेर हिँड्न, चिसो स्थानमा बस्न र बालबालिका, वृद्ध तथा बिरामीको विशेष हेरचाह गर्न सुझाव दिएका छन्। साथै, मदिरा र क्याफिनयुक्त पेय पदार्थ कम प्रयोग गर्न पनि आग्रह गरिएको छ।
के हो ‘लु’?
अत्यधिक गर्मीका कारण लगातार केही दिनसम्म तापक्रम उच्च रहँदा चल्ने तातो हावाको अवस्थालाई ‘लु’ भनिन्छ। लगातार तीन वा बढी दिनसम्म उच्च तापक्रम रहेमा यसलाई तातो हावाको लहरका रूपमा वर्गीकृत गरिन्छ।


