काठमाडौँ । कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष घिसिङले कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्णालीका लागि इन्धनमा विशेष सहुलियत आवश्यक रहेको बताउनुभयो।
उहाँले कर्णालीको विकट भौगोलिक अवस्थाका कारण यहाँ यात्रा तथा ढुवानी स्वभाविक रूपमा महँगो हुने भएकाले डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा मूल्य वृद्धि उपयुक्त नहुने उल्लेख गर्नुभयो। साथै, छिमेकी भारतमा इन्धनको मूल्य नबढेको उदाहरण दिँदै नेपालमा पनि नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष घिसिङले वर्तमान सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने पनि बताउनुभयो। आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कर्णाली क्षेत्रको विद्युतीकरण तथा ट्रान्समिसन लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गर्नुभयो।
उहाँका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ।
पार्टी गठनपछि छोटो समयमै चुनावमा जानुपर्ने बाध्यताका कारण अपेक्षित सफलता हासिल गर्न नसकिएको उल्लेख गर्दै अबको निर्वाचनमा उनेपा ठूलो शक्ति बनेर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।


