सरकारी वेबसाइट अब सबैका लागि पहुँचयोग्य: नयाँ वेब पहुँच सुविधा लागू

काठमाडौँ । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यसहित नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।

सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहल विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिएका छन्।

नयाँ व्यवस्थाअनुसार अब सरकारी वेबसाइटहरू केवल किबोर्डको प्रयोगबाट पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ।

प्रयोगकर्ताले माउस बिना नै वेबसाइटका सबै भागमा पहुँच पाउने व्यवस्था गरिएको छ। साथै, ‘स्किप नेभिगेसन’ लिंकमार्फत प्रयोगकर्ताले अनावश्यक नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा पुग्न सक्नेछन्।

वेबसाइटमा रहेका महत्वपूर्ण तस्बिर, लोगो र चिन्हहरूमा ‘अल्ट टेक्स्ट’ राखिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सजिलो बनाउँछ। फाराम भर्दा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब स्पष्ट रूपमा सुन्न र बुझ्न सकिने गरी सुधार गरिएको छ।

त्यसैगरी, सर्च र सम्पर्क फारामजस्ता इनपुट क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई प्रयोग गर्न सहज हुने भएको छ। किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटमा आफू रहेको स्थान देखाउने दृश्य संकेतहरू पनि थपिएका छन्।

फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडरमार्फत सजिलै थाहा पाउने व्यवस्था गरिएको विभागले जनाएको छ। यी सुधारहरू सामान्य प्रयोगकर्तालाई धेरै नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।

विभागका अनुसार यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्‍याउने लक्ष्यलाई मजबुत बनाउनेछन्। साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित: सोमबार, बैशाख ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय