काठमाडौँ । रेसुंगा विमानस्थल बाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ।
नेपाल वायुसेवा निगम ले काठमाडौँ–गुल्मी रुटमा आइतबार, मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको हो। यसअघि भने आइतबार, मंगलबार र बिहीबार मात्र उडान हुँदै आएको थियो।
विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार आन्तरिक उडानमा प्रयोग हुने ट्विनअटर जहाजको मर्मतसम्भार सम्पन्न भएपछि उडान संख्या बढाइएको हो। उडान तालिका विस्तारसँगै भाडादर पनि वृद्धि गरिएको उनले जानकारी दिए।
नयाँ भाडादरअनुसार काठमाडौँबाट रेसुंगाका लागि प्रतियात्री १० हजार ९०२ रुपैयाँ र रेसुंगाबाट काठमाडौँका लागि १० हजार ७०२ रुपैयाँ कायम गरिएको छ। यसअघि भाडा क्रमशः ७ हजार ५०० र ७ हजार ३०० रुपैयाँ थियो।
थापाका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भाडादर करिब ३ हजार ४०२ रुपैयाँले बढाइएको हो। निगमले आन्तरिक उडानका लागि १८ सिट क्षमताको ट्विनअटर विमान प्रयोग गर्दै आएको छ।
उडान बिहानको समयमा मात्र सञ्चालन गरिन्छ, जसअनुसार काठमाडौँ–रेसुंगा रुटमा विभिन्न दिन फरक–फरक समय तालिका निर्धारण गरिएको छ। दिउँसो हावाको चाप बढी हुने भएकाले प्राविधिक कारणले बिहान मात्रै उडान गर्ने गरिएको हो।
पछिल्लो समय नियमित हवाई सेवा सुरु भएपछि गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। साथै, करिब १६–१८ घण्टाको सडक यात्रा घटेर हवाईमार्गबाट ४५–५० मिनेटमै यात्रा सम्भव भएको यात्रुहरूले बताएका छन्।


