अमेरिका–इरान युद्धविराम प्रयासका मध्यस्थ पाकिस्तानी प्रधानमन्त्री कतारमा

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामका प्रमुख मध्यस्थकर्ताका रूपमा रहेका पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार पुगेका छन्। यसअघि उनले दोस्रो चरणको शान्ति वार्ताको वातावरण बनाउन साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयका अनुसार उनी साउदी अरबको भ्रमणपछि प्रतिनिधिमण्डलसहित दोहा पुगेका हुन् र त्यहाँ उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा क्षेत्रीय तथा विश्वव्यापी शान्ति प्रयासबारे विचार–विमर्श हुने बताइएको छ। मध्यपूर्वको भ्रमणपछि प्रधानमन्त्री सरिफको टर्कीए जाने कार्यक्रम समेत तय गरिएको छ।

यसअघि इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच भएको वार्ता कुनै ठोस सम्झौतामा पुग्न सकेको थिएन। युद्धविरामपछि क्षेत्रीय तनाव कम गर्ने प्रयास जारी रहे पनि स्थायी समाधानबारे सहमति जुट्न नसकेको जनाइएको छ।

प्रकाशित: बिहिबार, बैशाख ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय