संसद् भवन निर्माण समयमै सक्न सभामुख अर्यालको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माण कार्यप्रति चासो व्यक्त गर्दै तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

आज सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिसँग भएको छलफलमा उनले काममा ढिलाइ नगरी निर्धारित मितिमा निर्माण सक्न जोड दिएका हुन्। छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत सहभागी थिए।

विसं २०७६ असोज १८ मा तुन्डी शेख जेभीसँग रु ७ अर्ब ९४ करोडमा सम्झौता गरिएको यो आयोजना सुरुमा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, हालसम्म छ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

सहरी विकास मन्त्रालयका अनुसार हालसम्म करिब ९४ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ। भवनको इन्टेरियरका लागि केसी श्यामसुन्दर बानियाँ जेभीसँग रु २ अर्ब ३४ करोड र छाना निर्माणका लागि चेनलिङ्क इञ्जिनियरिङसँग रु ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरिएको छ।

प्रकाशित: सोमबार, चैत्र ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय