काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले कुनै पनि नेताले भाषण वा आवेगका आधारमा पार्टी सदस्यता खारेज गर्न नसक्ने स्पष्ट पारेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा आज विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा उनले निर्दलीय पञ्चायती व्यवस्थाको समयमा ज्यान जोखिममा राखेर लिइएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा खारेज गर्न नसकिने उल्लेख गरेका छन्।
इतर समूहका अनुसार पार्टी सदस्यता कुनै व्यक्तिको हार–जीतसँग मात्र सम्बन्धित नभई नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको संघर्षसँग जोडिएको ऐतिहासिक पहिचान हो। साथै, यो शहीदहरूको योगदान र तिनका परिवारप्रतिको सम्मानसँग पनि सम्बन्धित रहेको उनीहरूको भनाइ छ।
खड्काले क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाण मात्र नभई पार्टीको ऐतिहासिक निरन्तरता र योगदानको प्रतीक भएको बताएका छन्। उनले महाधिवेशनबाट वैधानिक व्यवस्था नभएसम्म कुनै पनि व्यक्तिको सदस्यता खारेज गर्न नसकिने स्पष्ट पारेका छन्।


