काठमाडौँ । केपी शर्मा ओली हिरासतबाट मुक्त भएपछि आफूविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नपुगेकाले रिहा भएको बताएका छन्।
उनले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको दाबी गरेका छन्। साथै, आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्।
हिरासतका क्रममा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।
यसैगरी, रिहाइको माग गर्ने क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले नै उपचार खर्च व्यहोर्ने पनि उनले जानकारी दिएका छन्।


