काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका चार प्रमुख समितिका सभापतिहरूले आज पदबहाली गरेका छन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले आज सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शपथ ग्रहण गरेपछि आ–आफ्नो कार्यकक्षमा गई पदबहाली गरेका हुन्।
पदबहालीपछि प्रतिक्रिया दिंदै सुशासन समितिका सभापति पौडेलले दिगो, समन्यायिक र सन्तुलित विकासका लागि नीति तथा कानुन निर्माणमा सक्रिय रहने बताएका छन्। भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन समितिको मुख्य कार्यक्षेत्र हुने उनले उल्लेख गरे। साथै सेवा प्रवाह, सूचना प्रविधि र नवप्रवर्तनसम्बन्धी कार्यमा पनि समितिले पहल गर्ने बताए।
राष्ट्रिय सरोकार समितिका सभापति राईले विगतका कार्ययोजनाहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए। विशेषगरी साइबर बुलिङका घटनामा ध्यान दिने र हाल सरकारी विज्ञापन रोकसम्बन्धी निर्णयबारे सरोकार भएका निकायसँग बहस गराउने योजना रहेको उनले बताए।


