काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
आज राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीसँग शीतलनिवासमा भएको भेटमा देशमा लगानीको सम्भावना रहेको र यसको सदुपयोग गर्न विश्वभरमा रहेका नेपालीलाई आग्रह गरेका हुन् ।
उनले भने, “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन,” ।
नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठा बढाउन गैरआवासीय नेपालीले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने पनि राष्ट्रपति पौडेले विश्वास गरे ।
उनले भने, “नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना छ,” “अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजार हाम्रा पहुँचमा छन् । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायत विकासमा केन्द्रित हुनुपर्छ ।”


