काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत श्रमिकहरूले न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको भन्दै उजुरी आउने गरेको जनाएको छ।
यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले प्रचलित कानुनअनुसार श्रमिकका अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदातालाई निर्देशन दिएको छ।
मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार काममा लगाइएका श्रमिकलाई न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष तथा बिमाजस्ता सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
यस्ता सुविधाबाट श्रमिकलाई वञ्चित गराएको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै मन्त्रालयले सम्बन्धित सबै निकाय र सरोकारवालालाई कानुनको पालना गर्न आग्रह गरेको छ।


