नेपाली कांग्रेसले १५औँ महाधिवेशन तयारी सुरु, ‘जरा अभियान’ पनि सञ्चालन

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले पूर्वप्रकाशित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि वडा तहसम्म सदस्यता वितरण र नवीकरण अभियान सञ्चालन गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले महाधिवेशन तयारीसँगै ‘जरा अभियान’ पनि सुरु गरिएको जानकारी दिएका छन्।

महामन्त्री पौडेलका अनुसार, ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिले वैशाख महिनाभर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्। पुराना क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने छ।

यसपटक कांग्रेसले सबै सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गर्ने योजना ल्याएको छ। सदस्यता अद्यावधिक गरेपछि मात्र यो परिचयपत्र प्राप्त हुनेछ। कांग्रेस आईडी नभएका सदस्यहरू १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्। नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्था पनि मिलाइएको छ।

पौडेलले भने, “वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नगरेमा पुरानो क्रियाशील सदस्यता कायम रहने छैन। सदस्य जुन भूगोल वा वडाको हो, त्यहीँ पुगेर अनिवार्य रूपमा नवीकरण वा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।”

‘जरा अभियान’ अन्तर्गत १५औँ महाधिवेशन तयारी, सांगठनिक सुदृढीकरण, निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने चार मुख्य विषय समेटिएका छन्। जिल्लामा खटिएका प्रतिनिधिलाई भ्रातृ संगठनको अवस्था बुझ्न र सांगठनिक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रकाशित: शनिबार, चैत्र २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय