काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा ९ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा माइक्रोबस चालक गजबहादुर मगरको टाउकोमा चोट लागेको छ भने उनलाई उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ। काभ्रे मण्डनदेउपुर–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारीलाई पनि टाउकोमा चोट लागेपछि धुलिखेल पठाइएको छ।
यस्तै, प्रशान्त केसीको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ भने अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ। चिकित्सकका अनुसार अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
प्रहरीका अनुसार झापाका संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत घाइते भएका छन्।


