सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध

काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदका लागि सांसद डोलप्रसाद (डीपी) अर्याल एक्लो उम्मेदवार बनेका छन्। निर्धारित समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने सुनिश्चित भएको छ, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो, जसमा अर्यालको मात्र उम्मेदवारी परेको हो। प्रतिनिधिसभा नियमावली अनुसार एक जनाको मात्रै उम्मेदवारी परे समर्थक सदस्यको भनाइपछि अध्यक्षता गर्ने व्यक्तिले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ।

यो घोषणा अब बस्ने प्रतिनिधिसभाको बैठकमा गरिनेछ, जुन आगामी आइतबारका लागि तय गरिएको छ।

प्रतिनिधिसभामा सत्तापक्षको स्पष्ट बहुमत रहेकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका छैनन्। २७५ सदस्यीय सदनमा रास्वपाको १८२ सिट रहेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू रहेका छन्।

सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ। संसद् सचिवालयका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगबाट हुनुपर्ने व्यवस्था छ, तर एकल उम्मेदवारीको अवस्थामा एउटै दलबाट पनि हुन सक्ने प्रावधान रहेको छ।

उपसभामुख कसले पाउने भन्ने विषयमा भने हालसम्म ठोस छलफल भएको छैन। सभामुखले कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ भने उपसभामुखले सभामुखसमक्ष शपथ लिनेछन्।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य हुने भएकाले उपसभामुख पदमा कुन दलको प्रतिनिधित्व हुने भन्ने विषय पनि विशेष चासोको रूपमा हेरिएको छ।

प्रकाशित: शुक्रबार, चैत्र २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय