काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनाव हार्दा पनि सबैभन्दा अगाडि रहेको दाबी गर्दै अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने उद्घोष गरेका छन्।
आज सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि जनताले एउटा पार्टीलाई झन्डै दुई तिहाइ बहुमत दिएको स्वीकार गर्नुपर्ने बताए।
अध्यक्ष घिसिङले भने, “जनताले हाम्रो पार्टीलाई सडकमा बसेर खबरदारी गर्ने म्यान्डेट दिएका छन्, त्यसैले अब सडकबाटै आम नेपालीको मुद्दा उठाउनेछौं।” उनले देशको राष्ट्रियता, समृद्धि र जनताका समस्याको समाधानका लागि सडकबाट सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
घिसिङले सरकारका राम्रा कामको समर्थन गर्ने र गलत कामको कडा आलोचना गर्दै देशलाई सही मार्गमा अघि बढाउन आफ्नो पार्टी सधैँ तत्पर रहने पनि स्पष्ट पारे।


