काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाको दिव्य रङ र दर्शन सहितको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गर्नुभयो।
पौभा कला नेवार जातिको मौलिक चित्रकला हो। नयाँ क्यालेन्डरमा विशेषगरी काठमाडौँ उपत्यकामा बस्ने नेवार समुदायसँग गहिरो सम्बन्ध राख्ने दुर्लभ पौभा चित्रहरू समावेश गरिएको छ। थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको बैंकले उल्लेख गरेको छ।
बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आफ्नो क्यालेन्डरमा मौलिक चित्रहरू समावेश गर्दै आएको छ। २०७९ मा मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा स्वदेश फर्काइएका प्राचिन कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने चित्र समावेश गरिएको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति थियो।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले “बैंक अफ द इयर २०१४”, “बेष्ट इन्टरनेट बैंक २०१६”, “बेष्ट बैंक नेपाल २०२४ र २०२५”, “युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५”, “बेष्ट बैंक ईएसजी नेपाल २०२४” र “बेष्ट इम्प्लोयर” जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
बैंक मुलुकभर ३५२ शाखा कार्यालय, ३७९ एटीएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ विदेश प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
साथै, बैंकले नेपाली नागरिकहरूलाई विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। यसमा संयुक्त राज्य अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशहरू समावेश छन्।


