काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी समग्र प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले आज राष्ट्रपति भवन शीतल निवास पुगेर निर्वाचनको अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझाइएसँगै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण तथा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।
यसअघि आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेको छ। आज आयोजित कार्यक्रममा कुल ११० जना सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो।
प्रमाणपत्र वितरण कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराको सहभागिता रहेको थियो।
फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए, जसले प्रतिनिधिसभामा आफ्नो उपस्थिति सुनिश्चित गरेका छन्।


