काठमाडौँ । रामचन्द्र पौडेल ले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेना द्वारा टुँडिखेल मा आयोजित विशेष समारोहको अवलोकन गर्नुभएको छ। समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपतिलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, कूटनीतिक नियोगका प्रतिनिधि तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा राष्ट्रपतिले नेपाली सेनाद्वारा प्रस्तुत गरिएको विविध अश्वकला प्रदर्शनको अवलोकन गर्नुभयो। कार्यक्रममा घोडा दौड, जम्प, चार्जर दौड, ऐतिहासिक प्रयोग, घोडचढीबाट आक्रमण तथा फायर जम्प जस्ता आकर्षक प्रस्तुति देखाइएका थिए। साथै, घोडाको यातायात, कृषि, शिकार, युद्ध, उत्सव र खेलमा प्रयोगसम्बन्धी झलकहरू पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कुकुरबाट समेत विभिन्न कला प्रदर्शन गराइएको थियो भने उत्कृष्ट प्रस्तुति दिने सहभागीहरूलाई राष्ट्रपतिले पुरस्कार प्रदान गर्नुभयो।
प्रत्येक वर्ष घोडेजात्रा चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइन्छ। किंवदन्तीअनुसार टुँडिखेल क्षेत्र वरपर बस्ने गुरुमापा नामक राक्षसलाई नियन्त्रणमा राख्न र बालबालिकालाई सुरक्षित राख्ने विश्वासका साथ यो पर्व मनाउने चलन रहिआएको छ।
यसै अवसरमा राति गुरुमापालाई शान्त पार्ने उद्देश्यले विशेष परम्पराअनुसार खाद्य सामग्री चढाउने चलन पनि छ। साथै ललितपुर मा पनि कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।


