ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई जनताको अभिमतको सम्मान गर्दै जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन आग्रह गर्दै जथाभावी बोल्ने र जनमतलाई हल्का रूपमा लिने छुट कसैलाई नभएको स्पष्ट पारे। उनले सञ्चारमाध्यममा बोल्दा त्यसले वैदेशिक सम्बन्धमा पार्ने प्रभावसमेत विचार गर्नुपर्ने बताए।
लामिछानेले नागरिकसँगको सम्बन्धलाई बलियो बनाउन र पार्टीले गरेका प्रतिबद्धताहरूलाई गम्भीरतापूर्वक लिन पनि सांसदहरूलाई सुझाव दिए। उनले देशमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी आफ्नो काँधमा रहेको उल्लेख गर्दै जनताको अभिमतलाई पूर्ण सम्मान गर्दै अघि बढ्न आग्रह गरे।


