काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कारबाही गरिने जनाएको छ ।
बजारमा ग्यास हुँदाहुँदै छैन भन्दै उपभोक्तालाई नदिने तथा बढी मूल्य लिने गुनासो बढेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ ।
महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्यास छैन भन्ने गलत सूचना फैलाएर मूल्य बढाउने र सर्वसाधारणलाई असहज बनाउनेमाथि कारबाही गरिने बताउनुभयो । नेपाल आयल निगमले आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकेको उल्लेख गर्दै यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
ग्यास अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चिति गर्न थालेपछि पनि बजारमा अभाव देखिएको उहाँको भनाइ छ । महानगरले ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।


