काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार गरिएका अस्पतालहरूबाट सङ्कलन गरिएको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ९९ वटा अस्पतालमा कुल दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको जानकारी प्राप्त भएको छ ।
मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गर्ने काम गरिरहेको थियो ।
केही अस्पतालबाट विवरण ढिलो प्राप्त भएकाले सबै तथ्याङ्क सार्वजनिक गर्न समय लागेको प्रवक्ता बुढाथोकीले बताउनुभयो । अहिले भने सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइसकिएको उहाँले जानकारी दिनुभयो ।
विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२ जनाको विवरण पठाइएको थियो भने माघ ४ गते थप ७७ र फागुन २९ गते ३९ जनाको विवरण गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै ४५८ जनाको उपचार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा गरिएको थियो ।


