काठमाडौँ उपत्यकामा वायु गुणस्तरमा सुधार, वर्षाले प्रदूषण घटाउन सहयोग

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण क्रमशः घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) करिब १७८ रहेकोमा शुक्रबार मध्याह्नसम्म घटेर १४९ मा झरेको तथ्याङ्कले देखाएको छ।

यसअघि बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा रहेको थियो। तर आज सोही समयमा काठमाडौँ १२औँ स्थानमा झरेको छ। पछिल्ला दिनहरूमा मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार बिहीबार भएको वर्षाले हावामा रहेको धुलो तथा सूक्ष्म कणलाई जमिनमा झार्न सहयोग गरेकाले प्रदूषण कम भएको हो। उहाँले वर्षा र हावाले प्रदूषणका कण हटाउन मद्दत गर्ने बताए। साथै दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको जानकारी पनि दिनुभयो।

वातावरणविद् भुषण तुलाधरले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी, पातपतिङ्गरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार बिहीबारदेखि मौसममा सुधार आएको छ। वर्षा भएपछि हावामा रहेको प्रदूषण हटाउन सहयोग पुगेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा वाग्मती प्रदेशको चितवनस्थित नारायणी फिल्ड कार्यालयको मौसम केन्द्रमा १२६.२ मिलिमिटर मापन भएको छ। गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गामा १०२.२ मिलिमिटर र गोरखाको बारपाक केन्द्रमा ९० मिलिमिटर वर्षा भएको छ। त्यस्तै कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमिटर र झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’, ५१ देखि १०० ‘सचेत रहनुपर्ने’ र १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ स्तर मानिन्छ।

प्रकाशित: शुक्रबार, फाल्गुण २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय