काठमाडौँ । एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार सञ्चालन हुन नसक्दा अहिलेको निराशाजनक परिणाम देखिएको बताएकी छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कम्युनिस्टहरू परिवर्तनका पक्षधर हुन् भन्ने विश्वास दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने बताइन्। तर व्यवहारमा त्यही अनुरूप पार्टीहरू सञ्चालन हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ।
भट्टराईले रचनात्मक संवाद आवश्यक रहेको उल्लेख गर्दै विगतका कार्यशैली र व्यवहारगत त्रुटिहरूको वस्तुगत समीक्षा गर्नुपर्ने बताएकी छन्। साथै उनले ती कमजोरीहरू सच्याउँदै आगामी दिनका लागि सकारात्मक र सफल यात्राको मार्ग तय गर्नुपर्नेमा जोड दिएकी छन्।


