निर्वाचन सकिएसँगै आयोगका विशेष एकाइ बन्द

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय कार्यालयमा स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ।

आयोगको मंगलबारको निर्णयअनुसार आजदेखि लागू हुने गरी ती विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले ती एकाइहरू स्थापना गरेको थियो।

निर्वाचनसम्बन्धी सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले गत पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (EIDC) सञ्चालनमा ल्याएको थियो।

यसैगरी मतदाता तथा सर्वसाधारणका जिज्ञासा समाधान गर्न माघ ५ गतेदेखि ‘कल सेन्टर’ र सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) सञ्चालनमा ल्याइएको थियो। मतदान र मतगणना कार्य सम्पन्न भएसँगै आजदेखि ती सबै एकाइ बन्द गरिएको आयोगले जनाएको छ।

सञ्चालन अवधिभर सूचना सदाचार प्रवर्द्धन एकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान गरी सम्बन्धित नियामक निकायमा पठाएको थियो। साथै विद्युतीय मतदाता शिक्षा एकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा सचेतनासम्बन्धी ७०४ वटा श्रव्यदृश्य सामग्री र पोस्टर तयार गरी आयोगको डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरेको थियो।

कल सेन्टरमार्फत मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता र अन्य विषयमा आम मतदाताका आठ हजार २२० जिज्ञासाको सम्बोधन गरिएको आयोगले जनाएको छ।

निर्वाचन अवधिभर सहयोग पुर्‍याउने गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा संलग्न सबै कर्मचारी र विज्ञहरूप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित: बुधबार, फाल्गुण २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय