काठमाडौँ । सिरहा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै केही बिक्रेताले कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो बढ्दै गएको छ । उपभोक्ता र व्यवसायीले सरकारले निर्धारण गरेको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको बताएका छन् ।
लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतले ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेको आरोप लगाउनुभयो । उहाँका अनुसार दुई वटा ग्यास सिलिन्डर किन्न जाँदा प्रति सिलिन्डर चार हजार पाँच सय रुपैयाँ मागिएको थियो । जबकि सरकारी मूल्यअनुसार दुई सिलिन्डरको मूल्य तीन हजार आठ सय २० रुपैयाँ मात्र पर्छ । अत्यधिक मूल्य मागिएपछि ग्यास नकिनेरै फर्किनु परेको उहाँले बताउनुभयो ।
सिरहा नगरपालिका–६ मा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको गुनासो गर्नुभयो । उहाँका अनुसार एक सिलिन्डर ग्यासका लागि चार हजार पाँच सय रुपैयाँ तिर्नुपरेको छ, जसले गर्दा व्यवसायको खर्च धान्नै गाह्रो भएको छ ।
सरकारले निर्धारण गरेको खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार नौ सय १० रुपैयाँ रहेको छ । तर बजारमा भने उपभोक्ताले त्यसको दोब्बरभन्दा बढी रकम तिर्नुपरेको गुनासो गरेका छन् ।
उपभोक्ता अधिकारकर्मीहरूले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल बजार अनुगमन गर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कालोबजारी कानुनविपरीत कार्य भएकाले दोषी पाइए कारबाही गरिने बताउनुभयो । उहाँका अनुसार वाणिज्य कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमन गरिनेछ ।
यता नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण तीन दिन सिमाना बन्द गरिनु र उपभोक्ताले ग्यास भण्डारण गरेर राख्नुजस्ता कारणले बजारमा अभाव देखिएको बताएका छन् ।


