काठमाडौँ । पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको भन्दै अध्यक्ष पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्। उनले नेकपा मालेदेखि एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन्।
पोखरेलले भने, “यो परिणामको वास्तविक कारण नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने, ईर्ष्या र घमन्डपूर्ण प्रवृत्तिबाट पार्टीलाई सही दिशामा लैजान सम्भव छैन। तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्छ।”
उनले आगामी युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने र उनीहरूलाई आफ्नो पूर्ण साथ र सहयोग रहने धारणा व्यक्त गर्दै थपे, “पार्टीलाई सही दिशामा अघि बढाउन अध्यक्षदेखि महासचिवसम्म सबैले जिम्मेवारी स्वीकार गरी आत्मसमीक्षा गर्नुपर्छ। आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वलाई बाटो प्रशस्त गर्नुपर्छ। यसै सन्दर्भमा आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु।”


