निर्वाचन लक्षित अवैध गतिविधि नियन्त्रणमा संयुक्त सहकार्य गर्ने सहमति

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालसशस्त्र सीमा सुरक्षा बल, भारत बीच बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वयात्मक बैठक भारतको चम्पावत मा सम्पन्न भएको छ।

बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, चोरी–निकासी, लागुऔषध ओसारपसार तथा निर्वाचनविरोधी गतिविधि नियन्त्रणका विषयमा विस्तृत छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बैठकमा निर्वाचन अवधिमा सम्भावित अवैध तथा गैरकानुनी गतिविधिको सूक्ष्म निगरानी, मौन अवधिभर सीमानाका बन्दको प्रभावकारिता, सूचना आदानप्रदान तथा त्यस्ता गतिविधि नियन्त्रणका लागि दुवै पक्षबीच सहमति भएको जनाइएको छ। साथै, सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न संयुक्त र समानान्तर सीमा गस्तीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

सीमा क्षेत्रमा तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करीजस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर र घनिष्ठ सहकार्य गर्न आ–आफ्ना मातहतका युनिटलाई निर्देशन दिने सहमति बैठकमा भएको छ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो।

भारतीय सशस्त्र सीमा सुरक्षा बलका तर्फबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआइजीद्वय सुधान्सु नौटियालअनिलकुमार शर्मा सहित सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका क्षेत्रमा कार्यरत भारतीय सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखहरूको उपस्थिति रहेको थियो।

सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच यसअघि पनि केन्द्रीय, प्रदेश तथा जिल्लास्तरमा नियमित रूपमा यस्ता समन्वयात्मक बैठकहरू हुँदै आएका छन्।

प्रकाशित: शुक्रबार, फाल्गुण १५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय