फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा करिब दुई लाख २१ हजार कर्मचारी खटाइने भएको छ।

निर्वाचन आयोगका अनुसार ७७ वटै जिल्लामा रहेका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ स्थायी मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा कर्मचारी परिचालन गरिनेछ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मतदान केन्द्रमा खटाइने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई केन्द्रिय रूपमा प्रशिक्षण दिइनेछ भने अन्य कर्मचारीलाई सम्बन्धित मतदान अधिकृतमार्फत नै प्रशिक्षण प्रदान गरिने व्यवस्था मिलाइएको छ।

यसैबीच, निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री र मतपत्र बिहीबारसम्म देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।

प्रकाशित: शुक्रबार, फाल्गुण १५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय