न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार परेको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्नेगरी परेको यो हिमपातले लाखौँ मानिसलाई प्रभावित बनाएको छ भने हजारौँ उडान रद्द भएका छन्।
राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ, जुन रोड आइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो हिमपात हो र सन् १९७८ को रेकर्ड पनि तोडेको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेपछि न्युयोर्क राज्यले यात्रा असम्भव भएको भन्दै चेतावनी जारी गरेको छ।
भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहित पूर्वी तटीय राज्यहरूमा ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सकी गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा रोक लगाउँदै सुरक्षित रहन आग्रह गरेकी छन्। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको भए पनि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको छ।
उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। मौसमविद्को पूर्वानुमान अनुसार हिमपात मंगलबार बिहानसम्म जारी रहनेछ र केही तटीय क्षेत्रमा थप १–२ फिट हिउँ जम्न सक्ने सम्भावना छ।


